७ चैत २०८१, शुक्रबार
21 March , 2025,Friday

अन्तरिक्षमा बढ्दैछ फोहोरको थुप्रो

एजेन्सी/पृथ्वीमा त फोहोर भरिएकै छ, तर मानिसले गरेको फोहोरबाट अन्तरिक्षसमेत अछुतो रहन सकेन । अन्तरिक्षमा समेत निरन्तर रुपमा फोहोरको मात्रा बढिरहेको छ । अहिलेसम्म करिब साढे ६ हजार रकेट अन्तरिक्षमा प्रक्षेपण भएका छन् । जसको फलस्वरुप पृथ्वीको कक्षमा रकेट तथा स्याटेलाइटलगायतका मानवीय फोहोरको रास बढिरहेको छ ।

युरोपियन दक्षिणी अब्जर्भेटरीका अनुसार सन् २०३० सम्ममा स्याटेलाइट परियोजनाहरुको संख्यामा तीव्ररुपमा वृद्धि भई ७५ हजारभन्दा धेरै हुनेछन् । यस्ता प्रत्येक प्रक्षेपणसँगै अन्तरिक्षको फोहोर बढ्नेछ ।

कति फोहोर छ अन्तरिक्षमा ?

कम्बाइन्ड फोर्स स्पेस कम्पोनेन्ट कमान्डले अन्तरिक्षमा मानिसले के गरिरहेको छ भन्ने कुराको निगरानी गर्ने गर्दछ । उसले एउटा यस्तो सूची बनाएको, जसमा फरक-फरक खालका अन्तरिक्ष फोहोरहरु सामेल छन् ।

वैज्ञानिकहरुले एउटा यस्तो तरिका तयार पारेका छन् जसमा तीन किलोमिटर प्रति सेकेण्डको गतिमा घुमिरहेको १० सेन्टिमिटर आकारको वस्तु समेत ट्रयाक गर्न सकिन्छ । यसका अलावा पनि धेरै यस्ता फोहोरका टुक्राहरू अन्तरिक्षमा छन् जसका बारेमा मोटो अनुमान मात्रै गर्न सकिन्छ ।

लिडार (राडार तथा अप्टिकल डिटेक्टरबाट बनेको वस्तु) नामक उपकरणबाट लगातार यस्ता वस्तुहरु ट्रयाक गर्ने गरिएको छ, जसले ती वस्तुहरु कहाँ र कुन गतिले गईरहेका छन् भन्ने पत्ता लाग्दछ ।

कुन-कुन आकारका कति वस्तु छन् ?

हाल अन्तरिक्षमा पृथ्वीको कक्षमा घुमिरहेका १० सेन्टिमिटर वा त्यसभन्दा ठूलो आकारका वस्तुहरुको संख्या १० लाखभन्दा धेरै छ । त्यस्तै एक देखि ९ सेन्टिमिटरसम्मका १३ करोड भन्दा धेरै टुक्रा रहेका छन् । यी वस्तुहरु रकेटका टुक्रादेखि पेन्ट र मलमुत्र समेत हुन सक्छन् ।

भलै यिनको आकार सानो हुन्छ, तर यिनीहरु बन्दुकको गोलीभन्दा पनि तीव्र गतिमा घुमिरहेका छन् । यसबाट कक्षमा ठूलो खतरा पनि उत्पन्न हुनसक्छ ।

कहाँबाट आउँछन् यति धेरै फोहोर ?

स्पेस मिसनको सुरुवात देखि लिएर अहिलेसम्म सबै देशहरुले धेरै खालका सफलता तथा असफलता भोगिसकेका छन् । यी दुवै सन्दर्भमा एउटा कुरा भने उहीँ हुन्छ, त्यो भनेको अन्तरिक्षमा फोहोरको मात्रा बढ्दछ । कैयन् पटक स्याटेलाइट बिग्रेका छन् त कहिले दुर्घटनाको सिकार भएका छन् । त्यस्तै कहिले यानहरुले अचानक काम गर्न छाड्छन् र पत्रु बन्दछन् । केही स्याटेलाइटहरु रकेट बुस्टरयुक्त हुन्छन् जो पछि अन्तरिक्षमै छाडिन्छ ।

त्यस्तै एन्टी स्याटेलाइट हतियारले पनि फोहोर फैलाइरहेको छ । एस्याट भनिने त्यस्ता हतियार पृथ्वीको तल्लो कक्षमा रहेका भूउपग्रहलाई नष्ट गर्नका लागि प्रक्षेपण गरिने मिसाइल हुन् । अहिलेसम्म अमेरिका, रुस, भारत तथा चीनले एस्याट प्रक्षेपण गरिसकेका छन् । यस्ता मिसाइलले स्याटेलाइटलाई नष्ट गर्छन् र त्यसक्रममा अन्तरिक्षमा ठूलो परिमाणमा फोहोर सिर्जना हुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?